काठमाडौ
असार २९
वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ४५ पुगेको छ । बाढी पहिरोमा परी ३३ जना बेपत्ता भएका छन् भने २३ जना घाइते भएका छन् ।
देशका अधिकांश भेगमा परेको वर्षाका कारण देशैभरी प्रभाव परेको छ ।
देशका कतिपय ठूला नदीमा पानीको सतहले खतराको तह नाघेको छ । बागमती, दूधकोशी, सुनकोशी, तमोर र सप्तकोशी नदीमा राखिएका मापन केन्द्रमा जलसतह खतराको जनाउ दिने बिन्दुमा पुगेको छ ।
पूर्र्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला लगायतका नदी आसपासका मानिसहरूलाई समेत सचेत हुन आह्वान गरिएको बताइएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले गयराति डोल्पा, कालिकोट लगायतका जिल्लामा पनि पहिरोका कारण मानिसहरु बेपत्ता भएका र घरहरु समेत बगाएकोले बेपत्ता र मृतकको संख्या बढ्न सक्ने बताउनुभयो ।
बाढी पहिरोमा परेका मध्ये ११ सय ४ जनालाई उद्दार गरिएको छ ।
प्रवक्ता पोखरेलले सबैभन्दा धेरै बाढि र डुबानका कारण प्रदेश २ मा क्षति भएको र एकिन तथ्यांक आउन भने बाँकी रहेको जानकारी दिनुभयो ।
उहाँले पहाडी र मध्य पहाडी क्षेत्रमा पनि पहिरो र वर्षाका कारण ठूलो क्षति भएको तर एकिन विवरण भने आइनसकेको बताउनुभएको छ ।
यसैबिच बाढी र पहिरोका कारण देशभरीको जनजीवन प्रभावित छ । सबैभन्दा बढि १, २ र ३ नम्बर प्रदेशमा बाढी पहिरोले क्षति पुर्याएको छ ।
प्रदेश सरकारले बाढी पहिरोबाट प्रभावित नागरिकको उद्धार र राहतको काम तिव्रताका साथ भइरहेको बताएको छ ।
यस्तै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खोलिएका ५६ वटै ढोकामध्ये बिहान ८ बजेदेखि १० वटा बन्द गरिएका छन्।
पानीको बहावले पुललाई नै खतरा भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको थियो।
शनिबार राति साढे १० बजेपछिे पानीको बहाव ३ लाख ७१ हजार २१० क्युसेक पुगेपछि भारतले सबै ढोका खुला गरेको कोशी ब्यारेजस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।
आइतबार बिहानैदेखि पानीको बहाव घट्नेक्रममा रहेको प्रहरी सहायक निरीक्षक दाहालले जानकारी दिनुभयो ।