काठमाडौ ,
असार ३० –
निरन्तरको वर्षा र त्यसले निम्त्याएको विपद्का कारण ठूलो मानवीय र भौतिक क्षति भएको छ ।
गएको बिहीबार देखिको अविरल वर्षापछि बाढी, पहिरो र डुवानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको छ ।
देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका कारण हालसम्म ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा २४ जना महिला र ४१ जना पुरुष रहेका छन् । बाढी तथा पहिरोबाट घाइते हुनेको संख्या ३८ पुगेको प्रहरीको तथ्यांक छ ।
जसमा १७ जना महिला र २१ जना पुरुष रहेका छन् । १२ जना महिला र १८ जना पुरुष गरी ३० जना अझै बेपत्ता छन् ।
देशभर गरी एक हजार चार सय ४६ जनाको सकुशल उद्दार गरिएको नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
मृत्यु भएका ६५ जनामध्ये ४८ जनाको सनाखत भएको छ । राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालका अनुसार उद्धार तथा बेपत्ताको खोजी जारी रहेको र अहिलेसम्म ४८ मृतकको सनाखत भएको छ ।
यसैबिच मौसम पूर्वानूमान महाशाखाले आज देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा वर्षा हुने जनाएको छ ।
देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने मौसम विद राजु प्राधानाङले बताउनुभयो ।
उहाँले आज राति पनि देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने भन्दै देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने बताउनुभयो ।
मौसम विद प्राधानाङगले आउने २४ घन्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र यसको कारणले गर्दा देशको पहाडी भू भागमा पहिरो जान सक्ने तथा तराइका नदीहरुमा जलको वहाव र स्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।