चितवन ,
साउन ३ –
चितवन राष्ट्रिय निकुञ्जमा गएको एक वर्षमा ४३ ओटा गैँडासहित ७७ ओटा वन्यजन्तु मरेका छन् ।
एक वर्षको अवधिमा आठ ओटा बाघ, १४ ओटा चित्तल, ३ ओटा बँदेल र ९ ओटा घडियाल गोही मरेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले देखाएको छ ।
चितवन निकुञ्जको तथ्यांक अनुसार ०७५ साउनदेखि ०७६ असार मसान्तसम्मको अवधिमा ४३ ओटा गैँडा मरेका हुन् ।
१ वर्षमा यति धेरै गैँडा मरेको यो पहिलो पटक हो ।
विसं २०७५/०७६ मा चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रमा ३४ ओटा, मध्यवर्ती क्षेत्रमा ७ ओटा र डिभिजन वन चितवनभित्र २ ओटा गैँडा प्राकृतिक कारणले मरेका छन् ।
एक वर्षमै यति धेरै गैँडा मर्नु संवेदनशील विषय भएको र यो विषयमा कारणको खोजी र अध्ययन भैरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो ।
दुई वर्षअघि राप्ती नदीमा आएको बाढीले धेरै गैँडा बगाएका थिए । ती गैँडा निकुञ्जको पश्चिमी क्षेत्र हुँदै भारतसम्म पुगेका थिए । बाढीले बगाएको ९ ओटा गैँडा निकुञ्जले भारतबाट ल्याएको हो ।
शिकारीका कारण निकुञ्जमा वन्यजन्तु मर्ने क्रम घट्दै गए पनि प्राकृतिक कारणले मर्नेको संख्यामा भने कमी आएको छैन ।
निकुञ्जमा वन्यजन्तु संरक्षणमा सफलता मिले पनि घाइते र अशक्त अवस्थामा भेटिएका वन्यजन्तुलाई बचाउन नसक्नु मुख्य चुनौती बन्दै गएको छ ।
मरेका मध्ये १९ ओटा गैँडाको कुहिएका कारण लिङ्ग पहिचान हुन समेत नसकेको जानकारी दिँदै ढकालले भन्नुभयो निकुञ्जले चालु आर्थिक वर्षमा पटक–पटक गरी निकुञ्जमा स्विप अपरेसन गरेका कारण पहिले मरेका धेरै गैँडा पनि यस पटक फेला परेको हुन सक्ने बताउनुभयो ।
जंगली जनावरहरू एकआपसमा जुध्ने र विभिन्न प्रकारले घाइते अवस्थामा भेटिएर उद्धार गरी उपचारको अथक प्रयास गर्दा पनि कमैलाई मात्र बचाउन सकिएको छ ।
वन्यजन्तु अस्पताल सञ्चालनमा आएपछि घाइते अवस्थामा भेटिएका जनावरलाई समयमै प्रभावकारी उपचारका लागि अस्पताल लगेर बचाउन सकिने प्रमुख ढकालले बताउनुभयो ।