पाल्पा,
साउन ४ –
पाल्पाका सामुदायिक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिएका छन् ।
व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न पाल्पाका सामुदायिक विद्यालयले प्राविधिक शिक्षालाई जोड दिएका हुन् ।
पाल्पामा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ्ग, कम्प्युटर इञ्जिनीयरिङ्ग जस्ता शिक्षा सञ्चालन गर्दै आइरहेका छन् ।
यस वर्ष प्राविधिक धारको कक्षा ९ देखि १२ सम्म चार विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका लागि स्वीकृति पाएपछि पठनपाठन शुरु गरेका छन् ।
रम्भा गाउँपालिका–१ हुँगीको जनकल्याण माध्यमिक विद्यालय, निस्दी गाउँपालिका–५ ढुङ्गानावेशीको जनता मावि, माथागढी गाउँपालिकाको शौभाग्य माविमा कृषि बाली विज्ञानको अध्यापन शुरु भएको छ ।
त्यस्तै बगनासकाली गाउँपालिकाको चापपानीमा रहेको चन्द्र माविमा सिभिल इञ्जिनीयरिङ्ग विषय पठनपाठन शुरु भएको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकृत महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक स्थानीय तहमा एक मावि तहमा प्राविधिक धारको शिक्षा सञ्चालन गर्न पाउने व्यवस्था छ ।
तिनाउ गाउँपालिकाको दोभान मावि, तानसेन नगरपालिकाको लक्ष्मी माविमा कृषि बाली विज्ञान, रामपुर नगरपालिकाको आधारभूत माविमा पशुबाली विज्ञान सञ्चालन भइरहेको छ ।
यस्तै मोहनकन्या मावि तानसेन नगरपालिकामा कम्प्युटर इञ्जिनीयरिङ्ग, तानसेनकै जनता मावि र दमकडा माविमा सिभिल इञ्जिनीयरिङ्ग शिक्षाको पठनपाठन सञ्चालन भइरहेको छ ।
जिल्लाकै दुर्गम क्षेत्रमा पर्ने रम्भा गाउँपालिकाको वडा नं १ स्थित हुँगीको जनकल्याण माविमा प्राविधिक धारअन्तर्गत कृषिबाली विज्ञान पठनपाठन शुरु भएको छ ।
विद्यालयमा हालसम्म २८ जना विद्यार्थी भर्ना भइसकेका छन् भने साउनको २२ गतेसम्म भर्ना आह्वान गरिएको छ । कूल ४८ जनाको कोटा रहेकोमा न्यूनतम २४ जना विद्यार्थी अनिवार्य हुनुपर्नेछ ।
कक्षा ९ देखि १२ सम्म चार वर्षे कृषि बाली विज्ञान शिक्षा शुरु भएपछि विद्यार्थीलाई प्राविधिक शिक्षा लिन अन्यत्र जाने समस्या हटेको छ । प्राविधिक शिक्षा सञ्चालनका दुई शिक्षकको दरबन्दी आएपछि कक्षा शुरु गरिएको छ ।
गाउँपालिका भित्र सामुदायिक ३७ विद्यालयमध्ये आठ मावि, आठ आधारभूत र २१ प्रावि, संस्थागततर्फ पाँच विद्यालयमध्ये मावि एक, दुई आधारभूत र एक प्रावि गरी जम्मा ४२ विद्यालय छन् ।