काठमाडौ,
साउन ५ –
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक आज बस्दैछ । विभागको जिम्मेवारी र जिल्ला तहको इन्चार्ज टुङगो लगाउने विषयमा छलफल गर्न सचिवालयको बैठक आज बोलाइएको हो ।
दिउँसो १ बजे बालुवाटरमा बस्ने सचिवालय बैठकको ऐजेन्डा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगाएतका रहेको छ ।
पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकबाट जिम्मेवारी टुङगो लाग्ने जानकारी दिनुभयो ।
यसैबीच पार्टीको सचिवालय बैठक बस्नुअघि पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् । प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो । बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको एक नेताले जानकारी दिए ।
नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने सहमती शीर्ष तहमा भएको छ । भागवण्डाअनुसार नेताहरुको नाम टुंगो लगाउन बैठक बसेको प्रचण्ड निकट स्रोतले बतायो ।
यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।
पार्र्टी विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा झलनाथ खनाल र अर्थ विभाग प्रमुख सुरेन्द्र पाण्डे हुने सहमति भएको छ । आजको बैठकले निर्णय गर्ने तयारी छ ।
अनुशासन आयोग अमृत बोहरालाई दिने आन्तरिक सहमति छ । स्कुल विभागमा नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल दुवैजनाले दावी गर्नुभएको छ ।
पूर्वमाओवादीले पाएका विभागहरुमध्ये अर्थ र प्रचारको जिम्मेवारी कुन नेताले पाउने भन्ने चासो छ । आजको बैठकले निर्णय गर्ने तयारी छ ।