काठमाडौ
साउन ७ –
आज ४१ औं पुष्पलाल स्मृति दिवस,नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो। १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे ।
राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले जीवन विताएर राजनीतिक सन्देश दिनु भएको थियो । उहाले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिनु भएको थियो । निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उहा पहिलो नेता हुनुहुन्थ्यो ।
पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो । पुष्पलालको स्मृति दिवसका अवसरमा नेकपा बुटवल उपमहानगर समितिले बुटवल स्थित पार्टी कार्यालयमा
बिशेष कार्यक्रम आयोजना गरेको छ । पुष्पलालको बाल्यकाल र किशोरावस्थामा काठमाडौंमा बित्यो। राणाहरूको कठोर निगरानीमा चल्ने दरबार हाइस्कुलबाट उनले एसएलसी उत्तीर्ण गरे। त्यतिबेलाको नेपालको शिक्षण अहिलेको भन्दा उन्नत भएकाले एसएलसीसम्मको पढाइले नै उनको बलियो शैक्षिक जग स्थापित गरिदियो।
औपचारिक शिक्षा कम लिएका पुष्पलालले त्यस्तो शिक्षा बढी लिएकाहरूको व्यवहारबाट एकाधपटक हीनता महसुस गर्नुपरेको थियो। पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसमा छँदा वनारसमा एकपटक उनले पार्टीका नेता डिल्लीरमण रेग्मीसँग नागरिक तथा राजनीतिक अधिकारबारे बोल्न केही बुँदा मागे। जवाफमा रेग्मीले भने, ‘यो बुझ्नका निम्ति ठूलो दिमाग चाहिन्छ, एमए, बीए गरेको हुनुपर्छ।’ रेग्मीको यस्तो जवाफबाट खिन्न भएर पुष्पलाल वनारसको हरिशचन्द्र कलेजमा आईए तहमा भर्ना भए तर पार्टीको काममा बढी व्यस्त हुनु परेकाले
पढाइलाई निरन्तरता दिन सकेनन्।
अन्ततः स्वाध्यायमा बढी जोड दिएर क्षतिपूर्ति गर्ने निश्चय गरी उनले औपचारिक शिक्षा सदाका लागि त्यागे । बीपीको भन्दा पुष्पलालको राजनीतिक जीवन अप्ठेरो,संघर्षशील र स्वतन्त्र थियो। आफ्नो बुँतामा उभिनुको विकल्प पुष्पलालसँग थिएन। नेपाली राष्ट्रिय कांग्रेस विभाजित भयो। पुष्पलाल रेग्मी गुटमा गएपछि बीपी र पुष्पलालको बाटो सदाका लागि अमिल्दो भयो।
समयक्रममा पुष्पलालले रेग्मी गुटसमेत त्यागेर नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डी.पी. अधिकारीलगायसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी यसका सांगठनिक आधार तयार गरे।
यसैबिच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्पयुनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यसैबिच नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै कमि कमजोरी सच्याउने संकल्प गरेर अघि बढ्ने अवस्था आएको बताएका छन ।