काठमाडौ ,
साउन ८ –
अहिले पश्चिम र पूर्वका केही जिल्लाहरुमा वर्षा भइरहेको छ । बुधबार आज र बिहीबार भोली देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्ल्लेख छ ।
महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका थोरै स्थानमा भने भारी वर्षा हुने सम्भावना छ । लगातारको वर्षाका कारण पश्चिमका पहाडी जिल्लाका केहि स्थानमा पहिरो जाने सम्भावना रहेकाले सजग रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । हिजोदेखि पानी परिरहेकाले पहिरो जान सक्ने भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको हो ।
महाशाखाका अनुसार आज पश्चिम तराईका केहि स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । पर्सी शुक्रबारदेखि मौसममा सुधार आउने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
यसैबिच मंगलबार साँझबाट पुनः सुरु भएको अवरिल बर्षाले गुल्मीको पहिरो प्रभावित क्षेत्रमा उद्धारमा समस्या थपिएको छ । पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।
त्यस्तै, लुम्पेककै अन्य बस्ती पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई स्थानीय धर्मपुर मावि तथा अस्लेवाका विभिन्न स्थानमा स्थान्तरण गरिएको वडाध्यक्ष रुक बहादुर रानाले जानकारी दिनुभयो । त्यस्तै वडा नं ४ लिम्घामा पनि दुईसय घर परिवारलाई सरस्वति माविमा व्यवस्थापन गरिएको छ । वडाध्यक्ष दान बहादुर रानाका अनुसार पहिरोनै गएको गाउँका र अन्य जोखिम भएका गाउँका परिवार समेत पानी परेपछि रातिनै घर छोडर आएका छन् ।
पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा उद्धार र राहत वितरणमा समस्या थपिदै गएको छ । पहिरोले सवैभन्दा बढि मानवीय क्षति भएको वडा नं ४ लिम्घा पुग्ने सडक अबरद्ध छ । त्यस्तै ठुलोलुम्पेक जाने सवै सडक अबरुद्ध छन् ।