आज बाट मनसुनी न्यूनचापीय रेखा वर्षा गराउने प्रणाली नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर सरिरहेकोले मनसुन
कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज देखि पानी पर्ने क्रम विस्तारै कम हुँँदै जाने मौसमविदले बताएका छन् ।
अहिले देशभर सामान्यतया बदली भई देशका केही स्थानमा वर्षा भइरहेको छ ।
आज देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना छ । पश्चिम तराई र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
अबको केही दिन देशैभर सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।
आज साना नदीमा एक्कासी बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नवलपरासी, कैलाली,दाङलगायत कञ्चनपुर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनकुटा, पर्सा, बारा, आसपासका नदी तथा खोलामा बाढी आउन सक्छ ।
साना नदीमा एक्कासी बाढी आउने भएकाले नदी आसपासका स्थानीयले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।