साउन ९
दिक्तेल –
सडक बन्द गराउने क्रममा पक्राउ परेका तीनजना जनप्रतिनिधि सहित ६ जना रिहा भएका छन् ।
चौथो नगरसभाप्रति असन्तुष्टी जनाउँद खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकाको महादेवस्थानस्थित दिक्तेल–हलेसी सडकमा चक्का जाम गराएर सडक बन्द गराउने दुई जना वडाध्यक्ष, एक जना वडा सदस्य र अन्य तीन जना रिहा भएका हुन् ।हिजो बिहान पक्राउ परेका नेकपाबाट निर्वाचित हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई, महादेवस्थानकै वडा सदस्य निरजमान सिंह बस्नेत, नेकपा नगर कमिटिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर कमिटिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडा कमिटि सचिव धनकुमार भुजेल रिहा भएका हुन् ।
कांग्रेसको बहुमत रहेको उक्त नगरपालिकामा चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढंगले चौथो नगरसभा गरिएको विरोधमा नेकपा नगर कमिटिले एक घण्टाका लागि बिहान ६ बजेदेखि चक्का जाम गरेको थियो । उनीहरुले स्थानीयवासीलाई समेत सहभागी गराएर मङ्गलबार नगरप्रमुखविरुद्ध नाराजुलुस गर्दै एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले आर्थिक वर्ष २०७४र७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५र७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन् ।
नगरप्रमुख इवन राई र उपप्रमुख विमला राई नेपाली काङ्ग्रेसबाट निर्वाचित हुन् । जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी रहेको उक्त नगरपालिकामा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिको बहुमत छ ।दुई वडाध्यक्षसहित छ पक्राउ परेपछि नेकपाको हलेसी नगरसमितिको आकस्मिक बैठकले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेकोप्रति आपत्ति जनाएको थियो ।
उनीहरुले विज्ञप्तिजारी गर्दै प्रहरी हस्तक्षेपमा परेका सबै जनालाई बिनासर्त रिहाइ गर्न माग गरेका थिए ।नगरपालिकाभित्रको समस्या सडकमा उतारेर सडकमा अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको थियो । आन्दोलनको कार्यक्रमसम्म होल्ड गरेर राखिएको र कार्यक्रम सकिएसँगै आफन्तको जिम्मा लगाई छोडिएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताउनुभयो ।