काठमाडौ
साउन १० –
एक महिनायता खसी तथा कुखुराको तयारी मासुको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ ।
खुद्रा व्यवसायीले अचाक्ली नाफा राखेर मासु बेचिरहेको थोक विक्रेताले आरोप लगाएका छन् । काठमाडौं उपत्यकाका केही स्थानमा ब्रोइलर कुखुराको तयारी मासुको प्रतिकिलो मूल्य ४३० रुपैयाँ र खसीको मासु १३ सय रुपैयाँसम्म पुगेको छ । राष्ट्रिय कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीका अनुसार थोकमा किन्दा तयारी कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँ पर्छ ।
यस्तै खसीको तयारी मासुको थोक मुल्य १२५० रुपैयाँ पुगेको नेपाल मासु व्यवसायी संघका द्वितीय उपाध्यक्ष उमेश खड्गीले बताउनुभयो । यस्तै, खसी–बोकाको उत्पादन नेपालमा न्यून रहेको अवस्थामा भारतबाट ल्याउन सरकारले कडाइ गरेपछि मूल्य बढेको उपाध्यक्ष खड्गीको भनाइ छ । राष्ट्रिय कुखुरा व्यवसायी संघका अनुसार असार महिनामा मात्रै तयारी कुखुराको मासुको मूल्य चारपटक बढेको छ ।
असार १० गते प्रतिकिलो ३०० रुपैयाँमा थोक बिक्री भइरहेको कुखुराको मासु असार १७ गते बढेर ३१५ रुपैयाँ कायम भएको थियो । दोस्रोपटक बढेको ८ दिनपछि असार २३ मा पाँच रुपैयाँ बढेर ३२० पुग्यो । असार ३० मा चौंथोपटक बढेर मासुको मूल्य ३५० थोक कायम भएको संघले जनाएको छ ।
असार ३० गते कायम भएको तयारी मासुको मूल्य पछिल्लो एक वर्षयताकै सबैभन्दा उच्च भएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ । दुई महिनाअघि काभ्रेमा बर्डफ्लूका कारण युवकको मृत्यु भएको समाचार फैलिएपछि किसान डराएर उत्पादन घट्दा मूल्य बढेको संघको भनाइ छ ।
कुखुरा र खसीको मासुमा मूल्य बढाइएको बारे स्पष्ट जवाफ पेश गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार व्यवसायीहरुलाई छलफलमा बोलाएको छ ।
बजारमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री भइरहेको व्यवसायीले नै बताएका छन् । खसीको जिउँदो र तयारी गरी तीन थरी मूल्य तोकिएको छ ।