काठमाडौ
साउन ११-
आज ७० औं हलोक्रान्ति दिवस मनाइदै छ ।
देशमा प्रजातन्त्रको उदय हुनुअघि वि।सं। २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामुहिकरुपमा हलो जोतेका थिए ।
ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पंण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।
त्यही दिनको सम्झनामा आजको दिनलाई हलोक्रान्ति दिवसका रुपमा मनाउने गरिएको छ ।
यसैबिच बाजुरामा विभिन्न स्थानीय तहमा रहेका साहुको खेतमा हलो जोतेर जीविकोपार्जन गर्दै आएका ७३४ मुक्त हलिया परिवारको पुनःस्थापना गरिएको छ ।
जिल्ला मुक्त हलिया कार्यक्रमअनुसार परिचयपत्र प्राप्त सबै मुक्त हलिया परिवारको पुनःस्थापना कार्य सम्पन्न भएको छ ।
जिल्लाभर एक हजार ६३३ मुक्तहलिया परिवारको पहिचान भई प्रमाणीकरण भइसकेको छ ।
सरकारद्वारा प्रमाणित मध्ये १४० परिवार सम्पर्कमा नआएकाले उनीहरूको नाम लगत सूचीबाटै हटाइएको छ । बाँकी सबैको पुनःस्थापना भइसकेको छ।
विसं २०६५ भदौमा हलियालाई मुक्त घोषणा गरिएको हो ।