काठमाडौ
साउन १२ –
आज विश्व हेपाटाइटिस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विभिन्न संक्रमणका कारणले कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भनिन्छ । यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘हेपाटाइटिस फेरि एकपटक सोचौं, यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सूचित होऔं’ भन्ने तय गरिएको छ ।
यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो ।
आइतबार हेपाटाइटिस दिवसको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा द लिभर क्लिनिकका अध्यक्ष डा। अनन्त श्रेष्ठले नेपालमा भाइरल हेपाटाइटिस कलेजो रोगको महत्वपूर्ण कारकको रूपमा देखिन्छ भने अल्पकालिन हेपाटाइटिस तथा जन्डिसको प्रमुख कारण हेपाटाइटिस भएको जानकारी दिनुभयो ।
श्रेष्ठले कुल सङ्क्रमित मध्ये करिब २५ प्रतिशत गर्भवती महिलाको मृत्यु यही रोगका कारण हुने गरेको बताउनुभयो ।
दश वर्ष भन्दा कम उमेरका बालकलाई हेपाटाइटिस बी सर्यो भने जन्मभर उक्त रोगका जीवाणु हुन सक्ने सम्भावना ९० प्रतिशत रहेको उल्लेख गर्दै फाउन्डेसनका अध्यक्ष डा श्रेष्ठले बढी उमेरमा सर्यो भन्ने ९० प्रतिशत हराएर जाने र १० प्रतिशत मात्र बाकी रहने बताउनुभयो ।
कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । प्रदूषित पानी, बच्चाको दिशा, रगत, सिरिञ्ज, असुरक्षीत यौन सम्पर्क, आमाबाट बच्चामा गरी यो रोग लाग्ने र सर्ने गर्छ ।
पाँच प्रकारमा विभाजन गरिएको हेपाइटाइटिसका कारण वर्षेनी विश्वभर ४० करोड भन्दा बढि मानिस संक्रमित हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा भने हेपाटाइटिसका कारण वर्षेनी साढे २ लाख नागरिक संक्रमित हुने गरेका छन् ।
यस वर्षको हेपाटाइटिस दिवसको नारा ‘हेपाटाइटिस फेरि एकपटक सोचौं, यसलाई बुझौं र यस रोगबारे सही प्रकारले सूचित होऔं’ भन्ने तय गरिएको छ ।