काठमाडौ
साउन १३-
देशका विभिन्न ठाउँमा पानी परिरहेकाले बाढी आउन सक्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भू–भागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ ।दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । पानी पर्ने सम्भावना कायमै रहेकाले नदी तटीय क्षेत्रमा सतर्क भएर बस्न महाशाखाले आग्रह गरेको हो ।
सोमबार विशेष गरी ताप्लेजुङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा र लमजुङ जिल्ला तथा यस आसपासका जिल्लाका नदी तथा खहरेको बहाव उल्लेख्य बढ्ने देखिएकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको हो ।
यस्तै केही दिन सक्रिय रहेको मनसुन विस्तारै कम सक्रिय हुँदै गएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतर्फ भएकाले नेपालमा मनसुनी गतिविधि कम सक्रिय हुँदै गएको मौसमविद्ले बताएका छन् ।
तर केहीदिनमा मनसुन फेरि सक्रिय भएर देशभर पानी पर्ने मौसमविद् शान्ती कँडेलले बताउनुभयो । सोमबार काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँको मौसम आशिंकदेखि सामान्य बद्ली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।
बगांलको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सुदूर पश्चिमका केही भूभागमा परेकाले अहिले पनि सुदूर पश्चिमका केही ठाउँमा पानी परिरहेको छ । दिउँसो भने देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको कँडेलले बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न ठाउँमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको जनाएको छ ।