काठमाडौ
साउन १३ –
अन्तरिम संरचना निर्माणको विषयमा केन्द्रीत काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।
आगामी चौधौ महाधिवेशनका लागि क्रियाशिल सदस्यता वितरण गर्न र स्थानीय अधिवेशन गर्नका लागि पनि आधिकारीक समिति चाहिने भएकाले अन्तरिम संरचना कसरी बनाउने भन्ने बारेमा काँग्रेस बैठकमा छलफल हुदै आएको छ ।
गत असार २२ गतेदेखि सुरु भई पटक पटक स्थगित हुदै बस्दै आएको केन्द्रीय समितिको बैठक आज दिउसो दुई बजेपछि बस्नेगरी बोलाइएको छ । तर हिजो निधन भएका पार्टीका पर्वत जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठको अन्त्यष्टी पशुपति आर्यघाटमा दिउसो तीन बजे हुने तय भएकाले बैठक सर्न सक्ने महामन्त्री खड्काले बताउनु भयो ।
सवै नेताहरु उहाँको अन्त्यष्टीमा जानु पर्ने भएकाले बैठक चारबजेपछि बस्ने संभावना रहेको उहाँको भनाई छ ।
अन्तरिम संरचनाका लागि अहिले अधिवेशन गरियो भने चौधौँ महाधिवेशनका लागि फेरी अर्को अधिवेशन गर्नुपर्ने भएकाले डेढ बर्षमा दुई अधिवेशन हुने भएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुले बोलेपछि पदाधिकारीहरुले बोल्ने र भोलीसम्ममा यस बारेमा टुंगो लाग्ने महामन्त्री पूर्ण बहादुर खड्काले जानकारी दिनुभयो ।
काँग्रेसको वडा, गाँउ तथा नगर, क्षेत्र र प्रदेशस्तरको समिति नयाँ संरचना अनुसार नबनेकाले बैठक यसै बारेमा केन्द्रीत भएको हो ।
यता नेपाली काग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले नेपालका नेताहरु भ्रष्टाचारमा लिप्त भएको बताउनु भएको छ । नेताहरुले भ्रष्टाचार नगरे मुलुक धेरै राम्रो हुने बताउदै भ्रष्टाचारकै कारण मुलुकको बिकासको गति लिन नसकेको बताउनुभयो ।
रिपोटर्स क्लवले आज बिहान बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाले भ्रष्टाचारका कारण दुई जना पुर्व कर्मचारीले त आत्महत्या गरे अव राजनीतिक दलका नेताहरुले पनि आत्महत्या गर्ने दिन आउन सक्ने दाबी गर्नु भयो ।
गुल्मीका पहिरो पीडितलाई भेट गरी बुटवल आउनु भएका नेता भण्डारीले संघीय र प्रदेश सरकारले पहिरो पिडीलाई प्रयाप्त सहयोग गर्न नसकेको बताउनुभयो ।
उहाले आफुले पिडीत परिवारलाई ५ हजार रुपैयाका दरले सहयोग गर्दा गलत प्रचार गरीरहेको समेत गुनासो गर्नुभयो ।