काठमाडौ
साउन १५ –
विप्लव नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ ।
उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरिएको विरोधमा बन्दसहित संघर्षका कार्यक्रम घोषणा गरेको पार्टी प्रवक्ता खड्गबहादुर विकले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।
विद्रोही नेकपाले लामा सहित सम्पूर्ण नेता कार्यकर्ताको विना सर्त रिहाइको माग गरेको छ ।
यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले मकवानपुरमा दुई वटा गाडिमा आगजनी गरेको छ ।
बन्दको अवज्ञा गरेको भन्दै चन्द समूहका कार्यकर्ताले हेटौंडा–नारायणगढ सडक खण्डको मनहरी गाउँपालिका–९ ज्यामिरेमा ना। ५ ख १७३९ नम्बरको ट्रक र हेटौंडा–कुलेखानी–फर्पिङ–काठमाडौं सडक खण्डको हुमानेभन्ज्याङमा बा। १४ च ८२३५ नं को कारमा आगजनी गरेका हुन् ।
आगजनीका कारण कार पूर्णरुपमा क्षति भएको र ट्रकको अगाडिको भाग मात्र जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्यसैगरी चन्द समूहका कार्यकर्ताले हेटौंको थानाभर्याङ, चौकीटोल, हुप्राचौरको क्विक ट्वेन्टीफोर होटल नजिक राखेको शंकास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ ।
यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यालयमा आगजनी भएको छ ।
वडा कार्यालयमा अपरिचित मानिसको समूहले गएराति आगजनी गरेको हो । आगजनीबाट कार्यालयका महत्वपूर्ण कागजात जलेका छन्
यस्तै नुवाकोटको ककनी गाउँपालिका–१ को कार्यालयमा पनि गएराति बम विस्फोट भएको छ ।
विस्फोटका कारण कार्यालयमा क्षति पुगेको छ । यस्तै रौतहटको चन्दपुर नगरपालिकाको गैंडाटार वडा कार्यालयमा पनि आगजनी भएको छ ।
आगजनी तथा बिस्फोटको जिम्मा कसैले नलिए पनि प्रहरीले चन्द समूहका कार्यकर्ताको संलग्नता हुनसक्ने आशंका गरेको छ ।
उपत्यका र आसपासका ठाउँमा अहिले सामान्य रुपमा गाडी चलिरहेका छन् । लामो दूरीका गाडी भने हिजोको तुलनामा कम मात्रै चलेका छन् ।
काठमाण्डौ भित्रिने र बाहिरिने गाडी केही कम चले पनि सडकमा कतै अवरोध नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवा, नुवाकोट र गोरखा चल्ने गाडीका काउन्टरबाहेक अरु सबै काउन्टरबाट लामो दूरीका लागि यात्रुले टिकट काटिरहेका छन् ।