काठमाडौ
साउन १५ –
प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
सोमबार कांग्रेस र राजपाको नाराबाजीका कारण स्थगित भएको बैठक आज बोलाइएको हो ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विभिन्न प्रतिवेदनहरु पेश हुने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ ।
आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले “भूउपयोग विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुनेछ ।
“औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पनि पेश गर्ने कार्यक्रम छ ।
आजको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुने कार्यक्रम छ ।
यस्तै, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशि श्रेष्ठले “प्रहरी समायोजन विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले “वातावरण संरक्षण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्नुहुनेछ ।
तर नेपाली काँग्रेसले भने सर्लाही घटना छानबिन गर्न संसदीय समिति गठन नभएसम्म सदनमा अवरोध कायमै राख्ने जनाएको छ । काँग्रेस र राजपा मिलेर समिति बनाउनुपर्ने मागसहित प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएका छन् ।