काठमाडौ
साउन १५ –
प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पनि संसद बैठक अवरुद्ध पारेका छन् ।
सर्लाही घटनाबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रतिपक्षी दल कांग्रेस र राजपा नेपालले बुधबार पनि संसद बैठक अवरुद्ध पारेका हुन् ।
११ बजेदेखि सुरु भएको बैठकमा विपक्षी दुवै दलले एक घण्टादेखि नाराबाजी गर्दै बैठक अवरुद्ध पारेपछि बैठक स्थगित भएको छ । विपक्षी दलको विरोधका कारण बैठक बिहीबार दिउँसो २ बजे बस्नेगरी स्थगित भएको छ ।
यसअघी सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नासाथ दुवै दलका सांसदहरु बसेको ठाउँबाट जर्याकजुरुक उठ्दै विरोध जनाएका थिए ।
सभामुख महराले विपक्षी दलको विरोधबारे आफू र सरकारलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरे पनि दुवै दलका सांसदहरुले बस्न इन्कार गरे ।
विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाइरहे पनि सभामुख महराले शून्य समय प्रारम्भ भएको भन्दै बैठक अघि बढाउन खोजेपछि दुवै दलका सांसदहरु रोष्ट्रम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।
सर्लाही घटनाबारे संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक अवरुद्ध पारिरहने दुवै दलका सांसदहरुले बताएका छन् ।
सर्लाहीमा गएको असार ५ गते नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज मारिएका थिए । यस्तै सर्लाहीमै १३ वर्षीय बालकको मृत्यु प्रकरणमा स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर नारायणसिंह महतोको ज्यान गएको थियो । कांग्रेस र राजपाले दुवै घटनाको विरोध गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेका हुन् ।
यसैबिच संसदको अवरोध नहटेपछि सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठक बोलाएका छन्।
पटकपटक संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले अवरोध गरेपछि सभामुख महराले निकासको उपायो खोज्न सर्वदलीय बैठक बोलाएका हुन्।
कांग्रेस राजपा अवरोधले संटसद रोकिएपछि सिंहदरबारस्थित आफ्नो च्याम्बरमा पत्रकारहरूसँग कुरा गर्दै महराले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिएका हुन्।