अर्घाखाँची ,
साउन २३,
अर्घाखाँचीमा मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि एउटा अपत्यारिलो घटना घटेको छ।
एक युवाको बुबाले मेरै छोरोको शव हो भनी कानुनी रूपमा प्रहरी मुचुल्का गरेर शवको दाहसंस्कार गरे। तर मृतक भनेर दाहसंस्कार गरिएको छोरा घरमा जीवितै फर्किएपछि आफन्त चकित भएका छन्।
छोरा हराएको सात दिनपछि खोज्दै जाँदा खोलाको बीचमा ढुंगाको कापमा अड्किएको अवस्थामा शव फेला परेको थियो ।
अर्घाखाँची जिल्लाको सितगंगा–२ मन्द्रे काँठेपिपल निवासी ५७ वर्षीय घनबहादुर चुदाराका माइला छोरा ३४ वर्षीय कर्णबहादुर चुदारा यही साउन ८ गते घरबाट हराएका थिए। घरबाट छोरो हराएपछि बुबाले गाउँलेहरूको सहायतामा निरन्तर खोजीकार्य जारी राखेका थिए।
हराएको आठौं दिन सितगंगा १४ सिमरेनीस्थित बाणगंगा नदीको बीचभागमा ढुंगाको कोप्चेरोमा खुट्टा मात्र बाहिर देखिएको अवस्थामा स्थानीयले एउटा शव फेला पारेका थिए। शव फेला पारेपछि स्थानीयले चारैतिर खबर पुर्याए। लाश भेटिएको खबर चुदाराका घरपरिवारले थाहा पाएपछि शव चिन्नका लागि घरपरिवार प्रहरी, स्थानीयसहित घटनास्थल पुगेका थिए ।
खोलाको कोप्चेरोमा अड्किएको लाशलाई बाहिर निकालेर हेर्दा शव सडेर चिन्नै कठिन थियो। शवको अनुहार सडिसकेको थियो। प्रहरीले सोध्दा हातका औँला ,नङ खुट्टा र उचाइ पनि मिलेकाले यो मेरै माइला छोराको शव हो भनेर घनबहादुर चुदाराले भनेपछि प्रहरीले मुचुल्का उठाएको थियो ।
मृतकका आफन्त र गाउँलेहरूको रोहबरमा घटनास्थलमा शवको मुचुल्का बनाएपछि शवको पोष्टमाटम गर्नका लागि सन्धिखर्क जिल्ला अस्पताल लगियो । गरिब र विपन्न परिवारका चुदारालाई सबैले आर्थिक सहयोग गरेपछि शवको पोष्टमाटम गरी साउन १५ गते दिउँसो ४ बजे सन्धिखर्कमा शवको अन्तिम दाहसंस्कार गरिएको थियो।
छोरा जीवितै भएको त्यो खबर दाहसंस्कार गरेर घर फर्किएपछि भारतको हरियाणा कुलक्षेत्रमा रोजगारीको सिलसिलामा बस्दै आएका मृतक भनिएका कर्णबहादुर चुदाराका जेठो दाजु ओमबहादुर चुदारा र आमा रिमा कला चुदारासँग कर्णबहादुर भर्खरै आएको खबर आमाले घरमा गरेपछि उनीहरू झसंग भए।
माया मारेको छोरा जिवितै घरमा आउँदा एकमनमा डरपनि लागेको घनबहादुर बताउँछन्।
मृतक भनिएका कर्णबहादुर चुदारा कम बोल्ने सुस्त मनोस्थितिको रहेको आफन्तले बताएका छन ।
घरबाट हराएको ८ दिन भएकोले शव भेटिएको खबर पाएपछि घटनास्थल पुगेर, त्यहाँ उनका बुवालेनै मेरै छोराको शव हो भनेपछि खोलाबाट शव उठाएर सन्धिखर्क जिल्ला अस्पतालमा पोष्टमाटम गरि दाहासंस्कार गरिएको छिमेकी रामप्रसाद भट्टराईले बताएका छन।
आफ्नो सन्तान तथा परिवारको शव चिन्न नसक्दा खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको लासको दाहसंस्कार गर्न पुगेको घनबहादुरले बताएका छन ।
बेवारिसे शवको दाहसंस्कार गरे पनि मान्छे हराएको भनेर दोस्रो उजुरी नपरेको प्रहरीले जनाएको छ।