काठमाडौ
साउन २३ –
सुनको भाउले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ ।
आज सुन तोलाको ७० हजार पुगेको छ। यो अहिलेसम्मकै उच्च रेकर्ड हो।
साउन लागेयता लगातार बढ्दै आएको सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो।
छापावाल सुन हिजो एकै दिन १५ सय रुपैयाँ बढेर तोलाको ६९ हजार ५ सय रुपैयाँ पुगेको थियो।
गत वर्ष साउन महिनामा सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ थियो।
एक वर्षमै सुनको भाउ झण्डै १५ हजार वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको उहाँले बताउनुभयो ।
अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको उहाँको भनाइ छ ।
चाँदीको भाउ पनि लगातार बढ्दो छ ।
चाँदी पनि हिजोको तुलनामा तोलामा १५ रुपैयाँ बढेर आज ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनचाँदीको भाउ लगातार उकालो लागेपछि बिक्री घटेको व्यवसायीको भनाइ छ। अहिले उपभोक्ताले पुराना गहना बिक्री गर्ने क्रम बढेको छ।