काठमाडौ
साउन २६
नचिनेका मान्छेको समूहले शनिबार राति कपिलवस्तु र दाङमा सरकारी गाडीमा आगजनी गरेका छन ।
कपिलवस्तु को मायादेवी गाउँपालिका अध्यक्ष को सरकारी गाडीमा आगजनी भएको छ ।
गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बर को सरकारी गाडीमा आगजनी भएको हो ।
सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति साडे १० बजेतिर आगजनी भएको हो ।
आगजनी किन र कसले गर्यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताउनुभयो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।
कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभयो ।
यस्तै दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाको गाडीमा पनि आगजनी भएको छ । गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति नचिनेको मानिसको समूहले आगजनी गरेको हो ।
आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले निभाएको थियो ।