अर्घाखाची
साउन ३१ –
१० वर्षअघिदेखि निर्माण शुरु गरिएको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजनाले सन्धिखर्कमा विवाद हुँदा अपेक्षित गति लिन सकेको छैन ।
पर्यटकीय स्थल लुम्बिनी र ढोरपाटन जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना विवादका कारण अलपत्र बनेको छ । अर्घाखाँचीको सन्धिखर्कस्थित चुत्राबेशी बजारमा स्थानीयसँगको विवाद समाधान हुन नसकेपछि योजना अलपत्र परेको हो ।
सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा आफूहरुका घरघडेरी मासिने भन्दै स्थानीयले चर्को विरोध जनाएपछि काम अगाडि बढाउन समस्या भएको हो ।
बाग्लुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिए पनि सन्धिखर्कमा उत्पन्न विवाद यसको उल्झन बनेको छ । ट्रयाक खोल्ने काम सम्पन्न भइसकेको र चुत्रावेशी बजारमा देखिएको समस्या छिट्टै निष्कर्षमा पुग्न लागेको आयोजना प्रमुख जयलाल मरासिनीको भनाइ छ ।
सरकारी पक्ष र स्थानीयबीच पटकपटक भएका छलफल र बैठक बिनानिष्कर्ष टुंगिएका छन् ।
चुत्रावेशी बजारमा स्थानीयले ट्रयाक खोल्न नदिने अडान राखेपछि समस्या भएको ढोरपाटन सडक संघर्ष समितिका अध्यक्ष रामहरी भुसालको भनाइ छ ।