काठमाडौ
भदौ १३
आज कुशे औँशी , बाबुको मुख हेर्ने पर्व , देशभर पितालाई विशेष सम्मान गरी मनाइँदै छ ।
पितालाई देवता समान मान्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान प्रकट गर्दछन् । भाद्र कृष्ण औँसीका दिन जन्म दिने बाबु वा धर्मपुत्र बनाएका सन्तानले स्वास्थ्य अनुकूलको मिठाई, फलफूल, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बाबुको अनुहार हेर्ने गरिन्छ ।
दिवङ्गत पिताप्रति पनि यसै दिन गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बाबुको सम्झना गर्ने प्रचलन छ । समाजको दिनचर्या र आधुनिक युगसँगै आमाबुवालाई सम्झिने परम्परा पनि फेरिएको छ ।
भाद्र कृष्ण औंसीकै दिन वर्षभर देवकार्य, पितृकार्य लगायत धार्मिक कर्मका लागि अत्यावश्यक पर्ने कुश उखेलिन्छ ।
यस दिन घरघरमा कुश राखेर कुशको अर्चना गर्ने गरिन्छ । कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मानिन्छ । भगवान् इन्द्रले स्वर्गबाट कुश, तुलसी र शालिग्राम पठाएको भन्ने कथन छ ।
त्यसैले आज बिहानैदेखि गोकर्णेश्वर र बेत्रावती लगायत स्थानमा मेला लागेको छ । गोकर्णमा विशेष मेला लाग्ने भएकाले आजको औँसीलाई गोकर्णे औंसी पनि भनिन्छ ।