काठमाडौ
भदौ १४ –
पूर्वमन्त्री एवं राष्ट्रिय जनता पार्टी नेपालका नेता गणेश नेपालीको निधन भएको छ ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित नेपालीको ७६ वर्षको उमेरमा शुक्रबार साँझ आफ्नै निवासमा निधन भएको हो ।महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. २ निवासी नेपाली लामो समयदेखि बिरामी भएर घरमै बस्दै आउनु भएको थियो ।
पूर्व खेलकुद मन्त्री समेत रहनु भएका नेता नेपालीले खेलकुद क्षेत्रको समग्र विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । विसं १९९९ मा जन्मिएका मन्त्री नेपालीले २०२७ सालमा राजनीतिमा लाग्नुभएको थियो ।
उहाले विसं २०४४ सालमा नेपाली कांग्रेसको जिल्ला सभापति भई २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जिल्लाको मुख्य कमाण्डर नै भएर काम गर्नुभएको थियो ।कांग्रेस छाडेर उहा विसं २०५२ मा एमाले तथा २०६४ सालमा तमलोपा प्रवेश गर्नुभएको थिया । सोही बेला उहा चुनाव जितेर मन्त्री बन्नु भएको थियो ।
हाल उहा नेपाली राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध हुनुहुन्थ्यो । उहाँको शनिबार अन्त्येष्टि गर्ने कार्यक्रम छ ।