गुल्मी
भदौ १८ –
गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालय उत्कृष्ट विद्यालयको छनौटमा परेको छ ।
कक्षा १० र १२ सम्म सञ्चालित सामुदायिक र संस्थागत गरी १२ विद्यालय छनौट भएकोमा गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालय पनि परेको हो ।छनौटमा परेका सबै विद्यायलाई आगामी भदौ २२ गते परेको ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तराष्ट्रिय साक्षरता दिवसका दिन काठमाडौंमा आयोजना हुने विशेष कार्यक्रममा पुरस्कृत गरिने शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।
माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत १२ कक्षा सम्म सञ्चालित विद्यालयबाट सामुदायिक तर्फ कास्की पोखराको अमरसिंह माध्यमिक विद्यालय प्रथम, मोरङ ईन्द्रपुरको सुकुना माध्यमिक विद्यालय द्धितीय र पर्वत फलेवासको भवानी विद्यापीठ तृतीय भएका छन् ।
यस्तै सोही समुह अन्तर्गत संस्थागत तर्फ कास्कीकै एसओसएस हर्मन माईनर प्रथम, काभ्रे सांगाको नेपाल प्रहरी माध्यमिक विद्यालय द्धितीय र सेण्ट जेभियर्स कलेज माईतीघर काठमाडौं तृतीय भएका छन् ।माध्यमिक शिक्षा परीक्षा कक्षा १० तर्फ सामुदायिकमा मेधा सामुदायिक विद्यालय तेखापुखु भक्तपुर प्रथम, रेसुङ्गा माध्यमिक विद्यालय तम्घास गुल्मी द्धितीय र तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौं तृतीय भएका छन् ।
यही समूहका संस्थागत तर्फ रिलायन्स ईण्टरनेशनल एकेडेमी कपन काठमाडौं प्रथम,नेपाल प्रहरी माध्यमिक विद्यालय साँगा काभ्रे द्धितीय र भ्याली भ्यु ईङ्लीस स्कुल नयाँ बनेश्वर काठमाडौं तृतीय भएका छन् । तोकिएको मापदण्डका आधारमा राष्ट्रिय परीक्षा बोर्डबाट छनौट गरी पठाईएका विद्यालयलाई पुरस्कृत गर्ने निर्णय भएको शिक्षा मन्त्रालय श्रोतले जनाएको छ ।