काठमाडौ
असोज १ –
अहिले देशका अधिकांस भागहरुमा वर्षा भइरहेको छ ।
बुधबार पनि दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । बुधबार देशका मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने छ । कतैकतै भारी वर्षाको पनि सम्भावना रहेकाले पहिरो जान सक्ने, नदीहरुमा पानीको वहाब बढ्न सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदे सुझाव दिएका छन् ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको कारण देशभर मौसममा बदली भइरहेको छ । साथै, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेकाले पनि त्यसको प्रभावले पानी परिरहेको छ । मौसमविद् मञ्जु बासीले बुधबार दिनभर नै धेरै ठाउँमा पानी पर्ने र बिहीबारदेखि बिस्तारै मौसम खुल्दै जाने बताउनुभयो ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
यसैबिच अविरल वर्षाका कारण नेपालगञ्जका विभिन्न ठाउँ जलमग्न भएका छन् । सेतु विक चोकलगायतका स्थानमा पानी जम्दा आवागमनमा कठिनाइ भएको छ । नगरका केही घरभित्र पानी पसेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले नाली सफा गर्ने काम भइरहेको जनाएको छ । राप्ती नदीमा भने पानीको सतह सामान्य छ ।
यस्तै बीपी राजमार्गको विभिन्न ठाउँमा ढुंगामाटोसहितको लेदो खसेपछि बाटो अवरुद्ध भएको छ ।