काठमाडौ
असोज २
बिहीबारदेखि संविधान दिवस तथा राष्ट्रिय दिवसको कार्यक्रम सुरु भएको छ ।
मुख्य कार्यक्रम ३ गते शुक्रबार भए पनि बिहीबारदेखि नै संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाउन सरकारले आह्वान गरेको छ ।
‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं र दिपावली गरौं’ भन्ने मूल नारा तय गरेको सरकारले यस वर्षको दिवसलाई विशेष महत्व दिएको छ ।‘नेपालको संविधान, २०७२’ जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते मनाइँदै आएको संविधान दिवसको दिनलाई नै सरकारले राष्ट्रिय दिवसको रुपमा समेत मनाउने निर्णय गरेको थियो ।
यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज, भोलि र पर्सि घरघरमा राष्ट्रिय झण्डा फहराउन सरकारले आह्वान गरेको छ ।
यस्तै सरकारी अस्पतालमा बिहीबार निःशुल्क जाँच हुने भएको छ । संविधान दिवसको अवसरमा सरकारले ओपीडी टिकट निःशुल्क वितरण गर्ने व्यवस्था गरेको हो ।
सरकारले देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण गर्न निर्देशन दिएको छ ।
शुक्रबार परेको संविधान दिवसको अघिल्लो दिन सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकटको पैसा नलिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।
मन्त्रालयले सूचना निकालेर संविधान दिवस भव्यताका साथ मनाउन भन्दै बिहीबार ओपीडी टिकटको पैसा नलिन निर्देशन दिएको हो ।
यस्तै संविधान दिवसको अवसरमा सदर चिडियाखानाले प्रवेश शुल्कमा विशेष छुट दिएको छ ।
बिहीबार, शुक्रबार र शनिबार तीन दिनका लागि ५० रुपैयाँ मात्रै प्रवेश शुल्क तोकिएको चिडियाखानाले जनाएको छ ।
चिडियाखानाका अनुसार बालबालिकाले भने निःशुल्क अवलोकन गर्न पाउने छन् ।