काठमाडौ
असोज ३ –
नयाँ संविधान जारी भएको शुक्रबार चार वर्ष पूरा भएको छ ।
२०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।
संविधान जारी भएको दिनको सम्झना गर्दै केन्द्र, प्रदेश र पालिकामा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोह समितिले विशेष समारोह आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनुभएको यो समितिले आयोजना गरेका कार्यक्रममा राष्ट्रपतिलगायत विभिन्न विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहनेछ ।
नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ ।
गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् । यद्यपि संविधानका अन्तरबस्तुका विषयमा असहमति जाहेर गरेर मधेसवादी दलहरु निरन्तर आन्दोलनमा छन् । यो संविधानमा असहमति जनाउने वा संशोधनको माग गर्नेहरु पनि रहेका छन् ।
राष्ट्रपति, उपराष्ट्रपति ,प्रधानमन्त्री देखि विभिन्न राजनीतिक दलका नेताहरुले संविधान दिवसको उपलक्ष्यमा सामुहिक प्रतिबद्धताबाट मात्रै संविधानको सफल कार्यन्वयन हुने बताउनु भएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यस्थालाई जनअनुकुल बनाउन संविधानको उचित कार्यन्वय मुलमन्त्र भएको र यसका लागि दलबीचको एकता अपरिहर्य रहेको उहाँहरुको भनाइ छ ।
शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताउनुभएको छ ।
तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसअनुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको उहाँले स्पष्ट पार्नुभएको छ ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यामबाट देश लगातार प्रगति र विकासको गतिमा अगाडि बढ्दै गएको बताउनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन रपालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन्।
प्रधानमन्त्री ओलीले सवैको सहमतिमा संविधान जारी भएकाले यसको कार्यन्वयमा पनि एकता आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा अध्यक्ष प्रचण्डले नयाँ बिचारको विकास गरी नेपाली मौलिकता अनुरुपको समाजवाद स्थापना गर्नु अबको अभिभारा भएको बताउनुभएको छ ।
उहाँले चौथो संविधान दिवसको अवसरमा सवैले यसको कार्यन्वयका लागि एकताबद्ध हुनुपर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवसले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर हुने प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
सरकारले ६ सय ३४ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने भएको छ।
संविधान दिवसको अवसर पारेर ४ सय ५० जनालाई मानपदवी प्रदान गर्ने भएको छ। जस अनुसार महाउज्वजल राष्ट्रदीपबाट मरोणोपरान्त स्वर्गीय मदनमणि दिक्षित र रविन्द्रप्रसाद अधिकारीलई प्रदान गरिने भएको छ। त्यस्तै अलंकार प्राप्त गर्नेमा १५६ जना रहेका छन्। त्यस्तै विभिन्न पदकबाट २८ जनालाई विभूषित गर्ने भएको छ।
सुप्रसिद्ध प्रबल जनसेवाश्री सात जनालाई दिने भएको छ। जस अनुसार प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबरा, प्रधानमन्त्री केपी ओलीका निजी चिकित्सक दिव्या सिंह शाह, स्वर्गीय आङ छिरिङ शेर्पासहित चार विदेशी रहेका छन्।
जसमा १ जना सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालका डाक्टर र ३ जना भारतीय रहेका छन्।
संविधानले असहमत नागरीकका मुद्दाहरुलाई पनि संवोधन गर्दै हाम्रो अनि राम्रो संविधान बन्न सकोस अनि समस्त नेपालीजनमा विकास र भातृत्वको लहर छाओस् ।नेपाली जनमा नेपाली हुनुको थप गौरव यस संविधानले ल्याउन सकोस् ।
यस भूमिमा अवसर र समृद्धिको लहर ल्याउने सयन्त्र कायम होस् । कुनै दल या समुदाय भन्दा पनि समग्र नेपाली पनको रातो र निलो छाताभित्र सबैजना अटाउन सकौं । बिधीको शाषन होस्, बिधी अनि न्याय सरोवर होस् ।