काठमाडौ
कार्तिक ८ – कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने चाड यमपञ्चक अर्थात् तिहार शुक्रबारदेखि सुरु हुदैछ ।
शुक्रबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान शुक्रबारदेखि सुरु हुने भए पनि काग तिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ ।
तिथिको घटबढका कारण यस्तो भएको उहाँले बताउनुभयो । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने उहाँले बताउनुभयो । कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा गर्नुपर्छ ।
बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत्रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्य दिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ ५५ बजे भाइटीकाको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो ।
यसै दिनदेखि नेपाल संवत् ११४० सुरु हुन्छ ।
यसैबिच तिहारमा फूलको माला, मिठाइ र जङ्क फुडको बजार मूल्य मात्र अनुगमन गरिने भएको छ। बजारमा मिठाइ, काजु र किसमिसको मूल्य अनुगमन गरिरहेको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागले जनाएको छ ।