रमेश विश्वकर्मा
गुल्मी, कार्तिक ३०
गुल्मीमा १५ औँ राष्ट्रिय कफी दिवस मनाईने भएको छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा यहि मंसिर १ गते राष्ट्रिय कफी दिवसको १५ औँ संस्करण तम्घासमा मनाउन लागिएको हो । कफी दिवसको पूर्व सन्ध्यामा शनिबार पत्रकार सम्मेलन गर्दै बोर्डले सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको छ । दिवसलाई सम्बोधन गर्न परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवाली गुल्मी आउने कार्यक्रम तय भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नि।कार्यकारी निर्देशक दीपक खनालले जानकारी दिए । ‘‘आर्थिक संमृद्धिका लागि किसानको हात, गुणस्तरीय कफी रोपण अभियानमा हामी सबैको साथ’’ भन्ने मुख्य नारा सहित पहिलो पटक उक्त राष्ट्रिय कफी दिवस
मनाउन लागिएको खनालले जानकारी दिए ।
राष्ट्रिय चिया तथा कफी विकास वोर्डको आयोजना तथा, जिल्ला समन्वय समिति, कफी सुपरजोन, जिल्ला सहकारी संघ, कफी विकास केन्द्र, कफी अनुसन्धान केन्द्रको सह–आयोजनामा कार्यक्रम हुने उनले जानकारी दिए । विक्रम संम्बत १९९५ मा गुल्मी आँपचौरका स्थानीय हिरा गिरीले बर्माबाट नेपाल फर्कने क्रममा कफीको विउ लिएर पहिलो पटक कफी खेतीको सुरुवात गरेका थिए । राष्ट्रिय चिया तथा कफी विकास वोर्डको तथ्यांक अनुसार हाल नेपालका २० जिल्लामा व्यवसायी रुपमा कफी खेती गरिदै आएको छ । विश्व बजार र आन्तरिक बजारमा यतिवेला १४ देखि १५ हजार मेट्रिकटनसम्म नेपालको अराविका जातको कफीको माग भए पनि नेपालमा हाल ५ सय ३० मेट्रिकटन मात्र कफी उत्पादन हुने गरेको छ । नेपालमा अराविका र अर्गानिक जातको कफी उत्पादन हुँदै आएको छ ।
कफी खेती नेपालमा १२ लाख हेक्टरमा रोपण गर्न सकिने भएपनि हाल करिव २८ सय हेक्टर क्षेत्रफलमा मात्र कफी रोपण र विस्तार गरिएको छ । विश्व बजारमा अराविका र अर्गानिक जातको कफीको माग र यसको मुल्य पनि बढी रहेको बताईएको छ । राष्ट्रिय चिया तथा कफी विकास वोर्डले कफीको नयाँ मुल्य निर्धारण गरेको पनि खनालले
जानकारी दिए । नयाँ निर्धारित मुल्य सूचि अनुसार फ्रेस चेरी कफी ग्रेड ‘ए’ को प्रति केजी ८५ रुपैंया र ग्रेड ‘वी’ को ७५ रुपैंया कायम गरिएको छ । त्यसैगरी पार्चमेण्ट कफीको हकमा ग्रेड ‘ए’ को ४ सय २५ रुपैंया र ग्रेड ‘वी’ को ३ सय ७५ रुपैंयाँ निर्धारण गरिएको छ ।
ड्राई चेरी कफीको हकमा ग्रेड ‘ए’ को १ सय ४० रुपैंया र ग्रेड ‘वी’ को ९० रुपैंया कायम गरिएको उनले बताए । पत्रकार सम्मेलनमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नि।कार्यकारी निर्देशक दिपक खनाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गुल्मीका वरिष्ठ कृषि विकास अधिकृत उमानाथ भण्डारी, जिल्ला सहकारी संघका व्यवस्थापक
युवराज आचार्य, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।