गुल्मी
मंसिर १४ – प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पालिकाका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा अहिले बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।
गुल्मीको रुरु क्षेत्र गाउँपालिका ६ मा वडाअध्यक्ष पदको लागि उपनिर्वाचन हुदैछ । निर्वाचनको लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको मुख्य निर्वाचनको कार्यालय गुल्मीले जनाएको छ । जसको लागि २ जना मतदान अधिकृत, ४ जना सहायक मतदान अधिकृत ,८ स्वयमसेवक, २ जना सहयोगी गरि १४ जना कर्मचारी बिहिबारवाट मतदान स्थलमा खटिएका छन् ।
मतदाताले बेलुकी ५ बजेसम्म मतदान गर्न पाउने छन् । मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय बलेटक्सारमा संकलन गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार मतदान स्थलको सुरक्षा को लागि नेपाल प्रहरी, शसस्त्र र नेपाली सेना खटिएका छन् ।
ढुक्क भएर मतदान प्रक्रियामा सहभागि हुन मतदातालाई निरौलाले आग्रह गर्नुभयो । निर्वाचनलाई शान्तिपूर्ण भय रहित वातावरणमा सम्पन्न गर्न आबश्यक सुरक्षा तयारी पुरा गरिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो । निर्वाचनको लागि वडामा पुग्ने ४ स्थानका नाका आज रातिबाट बन्द गरिेएको छ । निर्वाचन प्रयोजनका लागि पास उपलब्ध गराइएका सवारी साधन बाहेक अन्र्य निर्वाचनको अबधीभर चलाउन नपाइने प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।
रुरु क्षेत्र गाउँपालिका ६ रिमुवामा ०७४ को स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेवाट निर्वाचित वडा अध्यक्ष पुर्ण बहादुर रेगामीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । वडा अध्यक्ष पदका लागि ३ जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनमा नेकपा र नेपाली काँग्रेस र १ जना स्वतन्त्र उम्मेदवार रहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट गिरिप्रसाद सिंजाली र नेपाली काँग्रेसबाट बेदप्रसाद दर्लामी चुनावी मैदानमा छन् ।
त्यस्तै सोहि वडाको वडा अध्यक्ष पदका लागि मनबहादुर दर्लामीले स्वतन्त्र उम्मेद्धवार रहेका छन् । वडामा २ हजार ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।
मतदानका लागि सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शंका, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन निर्वाचन आयोगले सबैसँग आग्रह गरेको छ । आयोगले बिहीबार र शुक्रबार सबै मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गरे पनि नागरिकता, सवारीचालक अनुमतिपत्र, राहदानी वा राष्ट्रिय परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने व्यवस्था गरेको छ ।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन आयोगले सबै मतदान अधिकृतलाई निर्देशन दिएको छ ।