पुष ४
कांग्रेसमा आन्तरिक विवाद लम्बिँदै, बैठक आज
कांग्रेसमा संस्थापन र असन्तुष्ट पक्षबीच कुरा नमिल्दा पार्टीभित्रको आन्तरिक विवाद लम्बिँदै गएको छ। १४ औं महाधिवेशन कार्यतालिका, विभाग गठन, नेविसंघ महाधिवेशन आयोजक समिति गठन र तरुण दलको समायवधि थपसँगै समितिलाई पूर्णता दिनेबारे प्याकेजमै सहमति गर्ने गरी भइरहेका छलफल सहमतिमा पुग्न नसकेको हो। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले गठन गरेको कार्यदलले सहमति जुटाउन सकेको छैन।
महाधिवेशन कार्यतालिकामा विवाद नरहे पनि बाँकी तीनवटै विषयमा दुवै समूहबीच कुरा मिल्न सकेको छैन। ‘उहाँहरू आफूले भनेजस्तो हुनुुपर्छ, हामीले मानिदिनुपर्ने जसरी बैठकमा प्रस्तुत हुनुहुन्छ,’ पौडेल समूहबाट कार्यदल सदस्य रहेका हृदयराम थानीले भने, ‘दुवै पक्षलाई मान्य हुने गरी सहमतिका पक्षमा हामी छौं। तर, उहाँहरु सम्मानजनक भागबण्डाका पक्षमा देखिनुभएन।’ बिहीबार साँझ कांग्रेस नेता एवं पौडेल समूहबाट कार्यदलको संयोजक प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बसेको थियो।
संस्थापन पक्ष नेविसंघमा चार महामन्त्रीसहित विधानअनुसार केन्द्रीय समिति गठन गर्नुपर्ने पक्षमा छ भने पौडेल पक्षले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र कोषाध्यसहित एकल पदाधिकारीको पूरा कमिटी ल्याउनुपर्नेमा छ। तरुण दलमा महासचिवमाथि कारबाहीका विषयमा कुरा मिलेको छैन। विभागमा पनि कार्यदलबीच कुरा मिल्न सकेको छैन। संस्थापन पक्ष विभाग संख्या बढाएर गठन गर्नुपर्ने पक्षमा छ भने पौडेल समूह अहिलेकै विभागलाई पूर्णता दिनुपर्ने पक्षमा छ। त्यस्तै संगठन, प्रचार, विदेश र जनसम्पर्क विभाग आफंैसँग राखेर बाँकी विभागमा भागबण्डा गर्ने संस्थापन पक्षको तयारीमा पौडेल समूहको असन्तुष्टि छ। चार विभागमध्ये दुई विभागमा उसको पनि दाबी छ।
यसैबीच सहमतिका लागि भन्दै दुई पटक स्थगित कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ। केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डा नसमेटेएिको भन्दै पौडेल समूहले निरन्तर बहिष्कार गर्दै आएको छ। पार्टीभित्र सहमतिका लागि नेता कृष्णप्रसाद सिटौला र उपसभापति विजयकुमार गच्छदार सक्रिय छन्।