गुल्मी
मंसिर १७ – बागलुङमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका तीनजनालाई काठमाडौं लगिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका–४ का ३८ वर्षीय हिमाल कार्की, २४ वर्षीया निमा केसी लाई काठमाडौं लगिएको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो। तीनजना गम्भीर घाइते भएकोमा पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले घाइतेलाई काठमाडौंको शिक्षण अस्पतालमा लगेको हो। गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबरलगत्तै घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका लागि विष्ट नेपाली सेनाको हेलिकोप्टर लिएर वुर्तिबाङ पुगेका थिए। गम्भीर घाइते अवस्थामा रहेका तीनजनालाई थप उपचारका लागी काठमाडौको शिक्षण अस्पतालमा ल्याइएको हो।
दुर्घटनामा ज्यान गुमाउने १४ जनामध्ये १० जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमध्ये गुल्मी इश्मा गाउँपालिका–५ का २५ वर्षीय रेशम थापा, माया थापा, ४० वर्षीया वसुन्धरा कार्की, इश्मा–४ की ४० वर्षीया सिता कार्की, ६५ वर्षकी भवि कार्की, ४५ वर्षकी भूमि कार्की, २५ वर्षकी मिना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की, नवलपरासी बर्दघाट नगरपालिका १ बस्ने ६० वर्षीय भुमा कार्की, बागलुङ बडिगाड गाउँपालिका ७ का ५५ वर्षीया नरमाया खत्रीको परिचय खुलेको छ ।
अन्य चार जनाको परिचय खुलेको छैन । ज्यान गुमाएकाको बुर्तिबाङ अस्पतालमा पोस्टमार्टम गरी शव आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । गुल्मीको इश्मा गाउँपालिका–५ दोहोली रिप कैयापाटाबाट बागलुङको निसीखोलातर्फ जाँदै गरेको जीप बडिगाड गाउँपालिका– ७ भिमगिठेको घोकर्णामा दुर्घटना भएको थियो ।