अनिल खत्री
गुल्मी ,मंसिर १८ – दुर्घटनामा गाउँपालिकामा रहेका धेरैको मृत्यु भएको शोकमा गुल्मीको इस्मा गाउँपालिकाले आज शोक बिदा दिएको छ ।
हिजो गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दुर्घटनामा १४ जनाको मृत्यु भएकोमा दुख ब्यक्त गर्दै शोक बिदा दिने निर्णय भएको इस्मा गाउँपालिकाको कार्यालयले जनाएको छ । बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्कीको बुधबार शव फेला परेको छ । कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय दिनेश शर्माले बताउनुभयो । शोकमा गाउँपालिका भित्रका सबै सरकारी कार्यालयहरुमा काम कारवाही बन्द गरि शोक बिदा दिएको हो ।
मंगलवार बिहान जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दुर्घटनामा परको थियो । जीप दुर्घटनामा १ जना बच्चा सहित १४ जनाको घटना स्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको बुधबार हुने भनिएको कुलपूजाका लागि जाँदै थिए । दुर्घटनापछि निसीखोला गाउँपालिका १ को कार्की गाउँ भनेर चिनिने बायखोला शोकमा डुबेको छ ।