घनश्याम पौडेल
अर्घाखाँची, ४ चैत – अर्घाखाँची जिल्लामा स्थानिय, प्रदेश र संघको बजेट कार्यान्वयन गतवर्ष भन्दा कम खर्च भएको पाईएको छ ।
अहिलेसम्म अर्घाखाँचीमा आर्थिक वर्ष २०७६÷०७७ सालको स्वीकृत बजेट अनुसार फागुन मसान्त सम्म औषतमा २० प्रतिशत मात्र पुजीँगत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका प्रमुख कोष नियन्त्रक रामबहादुर केसीले जानकारी दिनुभयो ।गत आर्थिक वर्षको तुलनामा बजेट खर्चको अनुपात कम नै रहेको र असारमा बढी खर्च गर्ने बानीको प्रवृत्तिलाई निरुत्साहन गर्न बाकी रहेको अवधि २०७६ चैत, २०७७ को बैशाख, जेठ र असारमा काम भएको महिनामा अनिवार्य रुपमा बजेट खर्च लेख्न जिल्ला स्थित कार्यालयलाई कोलेनिका अर्घाखाँचीले आग्रह गरेको छ ।त्यस्तै कोलेनिकाले तत्कालै लोकसेवाबाट पास भई सिफारिस भएर आएका नयाँ नियुक्त आलेप अधिकृत, आलेप सहायक तथा कोलेनिकामा कार्यरत कर्मचारीलाई दुई दिने आन्तरिक लेखापरिक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ ।जिल्लामा रहेका सार्वजनिक निकायहरुलाई आर्थिक प्रशासन सम्बन्धी ऐन, नियम, परिपत्र, निर्देशिका र कार्यविधिलाई कार्यान्वयनमा ल्याई आर्थिक अनुसासन पालना गर्न गराउँन अनुरोध गरेको प्रमुख केसीले जानकारी दिनुभयो ।