वैशाख २१
नेपालमा पहिलो पटक एकैदिनमा दोहोरो अंकमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्।
आइतबार नेपालगन्जमा ९ र पर्सामा १ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार नेपालगन्जमा संक्रमण देखिएकामध्ये ५ जना पुरूष र ४ जना महिला छन्। उनीहरू ७ देखि ५८ वर्ष उमेरका छन्।
नेपालगन्जका मेयर धवलशमशेर राणाले संक्रमितहरूको ट्राभल हिस्ट्री पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिए।
त्यस्तै आजै पर्साको वीरगन्ज महानगरपालिका ३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना पुष्टि भएको हो।
यसअघि एकैदिन यति धेरै कोरोना संक्रमित भेटिएका थिएनन्।
योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्।
उपचार गरेर घर गएका रौतहटका एक युवालाई भने आइतबार फेरि अस्पताल भर्ना गरिएको छ।