भरत पाण्डे
गुल्मी, असार २- गुल्मीको धुर्कोट गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट असार १० गते पेश गर्ने भएको छ ।
सोमबार सम्पन्न गाउँ कार्यपालिकाको बैठकले असार १० मा हुने गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गर्ने निर्णय गरेको हो । १० गते विहान ११ बजे हुने गाउँसभामा नीति तथा कार्यक्रम र दिउँसो बजेट पेश गर्ने कार्यक्रम तय भएको गाउँ कार्यपालिका प्रवक्ता कविता विकले बताउनुभयो । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले धेरै पटक जनप्रतिनिधी तथा जनता हिँडडुल गर्न समस्या हुने भएकोले एकैदिन नीति कार्यक्रम र बजेट पेश गरीने उहाँको भनाई छ । कार्यपालिका बैठकले धुर्कोट गाउँपालिकाभित्र असार ५ गतेदेखि टोल टोलमा पठन पाठन शुरु गर्ने पनि निर्णय गरेको छ । टोलमा विद्यार्थीको समूह बनाई शिक्षकहरुको समय तालिका मिलाएर पठन पाठन गर्ने तयारीका लागि विद्यालयहरुलाई निर्देशन दिईएको गाउँ कार्यपालीका प्रवक्ता विकको भनाई छ । त्यसैगरि कोरोना संक्रमण (कोभिड १९) का संक्रमितहरुलाई राख्नको लागि बर्बोटको देविस्थान प्राविमा निर्माण गरिएको आईसोलेसन थप व्यवस्थीत गर्ने निर्णय पनि गाउँ कार्यपालिकाले गरेको छ । संक्रमितहरु बढ्न थालेको अवस्थामा संक्रमितहरुलाई गाउँमै प्रभावकारी तरीकाले बस्ने व्यवस्था मिलाई संक्रमण मुक्त हुने वातावरणका लागि धुर्कोटले गाउँमै आईसोलेसन निर्माण गरेको छ । आईसोलेसनका कारण संक्रमितहरु जिल्लामा वा बाहिरका अस्पतालहरुमा जानुपर्ने समस्या समाधान भएको छ । आईसोलेसनमा अहिले १ जना संक्रमित रहनुभएको छ ।