असार २४
नेपाल विद्युत् प्राधिकरणले गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको असार १९ गतेको निर्णयबाट साउन ७ गतेभित्रमा महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिबाना नलाग्ने व्यवस्था गरिएको हो । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिबाना नलाग्ने निर्णय गरेको हो ।
सरकारले अहिलेकै रुपको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्ब्याएपछि प्राधिकरणले पनि त्यहीअनुसार महसुलमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो । अब गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना लाग्ने छैन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड(१९) को कारण अर्थतन्त्रमा समेत गम्भीर असर परेको भन्दै मन्त्रिपरिषद्को चैत १६ गतेको बैठकले उपभोक्ताहरुलाई विद्युत् महसुल तथा विलम्बबापत लाग्ने जरिबाना एवं अतिरिक्त शुल्क छुट दिने निर्णय गरेको थियो ।
त्यही निर्णयलाई कार्यान्वयन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको चैत २५ गतेको ८३० औँ बैठकले जरिबाना छुट दिने निर्णय गरेको थियो । सञ्चालक समितिले लकडाउन अवधि थपिएमा त्यहीअनुसार जरिबाना छुटको निर्णय गर्न कार्यकारी निर्देशकलाई अधिकार दिएको थियो । प्राधिकरणले लकडाउन खुकुलो भएसँगै सिङ्गल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न सुरु गरिसकेको छ ।