काठमाडौ
असार २६- देशभर अहिले पानी परेको छ ।
अविरल वर्षाका कारण गएको पहिरोमा परी देशका बिभिन्न स्थानमा जनधनको क्षति भएको छ । ८ जनाको मृत्यु भएको छ । पोखराका बिभिन्न स्थानमा पहिरोमा परि पाच जनाले ज्यान गुमाएका छन । राति पौने तिन बजेको समयमा पोखरा महानगरपालिका १८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा चार जनाको मृत्यु भएको छ। नौ जना घाइते भएका छन । मृत्यु हुनेहरूमा ५० वर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया, ११ वर्षीया ईशीका थापा र मृतक टंकको दाइको नाति ६ वर्षीय सुवान थापा रहेको छन ।
यस्तै घाइते हुनेहरुमा टंककी छोरी २२ वर्षीया पिंकी, १८ वर्षीया आशा, पिंकीकी पाँच वर्षीया छोरी पिरिशा, मृतक सोममायाकी बहिनी तनहुँको दमौली घर भएकी २८ वर्षीया सरस्वती श्रेष्ठ , सरस्वतीका छोरा आठ वर्षीय शीतल, १० वर्षीय सन्देश, छिमेकी १९ वर्षीय अनिश तामाङ, १९ वर्षीया रशी थापा र १९ वर्षीया रश्मि थापा रहेका छन्। यस्तै पोखरा महानगरपालिका २५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरा १८ मा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् ।
यस्तै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको छ।
उता अविरल वर्षासँगै आएको पहिरोमा परी लमजुङमा ३ जनाको मृत्यु भएको छ । गएराति १२ बजे आएको पहिरोमा परेर ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमायाँ तामाङ र नौ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी ३ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको छ ।
यस्तै लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।
यसैगरी मराङकै कल्लेनीको धारखोलामा आएको बाढीले दुई घर बगाएको छ। घरका मानिसले भागेर ज्यान बचाएका छन्। भाग्ने क्रममा एक जना घाइते भएका छन्।
यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी(जोमसोम सडकको राहुघाटस्थित बेलिब्रिजसमेत बगाएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।