टोपलाल अर्याल
गुल्मी, ५ साउन
अझै पनि कोरानाको त्रास उस्तै छ । गाउँदेखि शहरसम्म विभिन्न खाले भ्रम छन् । अस्पतालहरुले सामान्य बिरामी पनि भर्ना नगर्ने र रेफर गर्ने गरेका खबरहरु पनि नआएका होइनन् । तर गुल्मी अस्पताल तम्घासमा भने आरडिटी पोजेटिभ गर्भवतिको पनि प्रसुती गराएको छ । मालिका गाउँपालिकाकी २६ बर्षीया महिला शनिबार गुल्मी अस्पताल तम्घासमा प्रसुती गराइएको हो । गुल्मी अस्पतालले कोरोना संक्रमण सुरु भएपछि प्रसुती अगाडी गर्भवतिको अनिवार्य आरडिटी परिक्षण गर्ने गरेको छ । अस्पताल प्रमुख डाक्टर उत्तम पच्याका अनुसार अस्पतालमा कोरोना संक्रमतिहरुलाई प्रसुती गराउने छुट्टै कक्ष समेत बनाइएको छ । उनले ठुला अस्पतालहरुले समेत आरडिटी पोजेटिभ गर्भवतिहरुलाई भर्ना नगर्र्ने गरेको अवस्थामा गुल्मी अस्पतालका नर्सहरुले चुनौतिपूर्ण कामको प्रसंसा गरे ।ती महिला शुक्रबार अस्पताल भर्ना भइन् । तर व्याथाले च्यापेको थिएन् । शनिबार स्टाफ नर्स सुश्मा सुवेदीसहितको टोलीले ती महिलाको स्वास्थ्य परिक्षण सुरु गरे । केहि बेरमा आरडिटी पोजेटिभ देखियो । स्वास्थ्यकर्मी र परिवारमा केहि बेर त्रास फैलियो । व्यथा सुरु भइसकेकाले बाहिर रेफर गर्न सक्ने विकल्प थिएन् । ‘केहि बेर आफैले डर पनि माने तर त्यो भन्दा ठुलो कुरा परिवार र गर्भवतिलाई समाल्नु पर्ने स्थिती रह्योे,’उनले भनिन,‘परिवारको सहमति अनुसार पिपिइ लगाएर सामान्य प्रसुति गरार्यौँ ।’आरडिटी पोजेटिभ महिला प्रसुती गरिएको जिल्लामा यो पहिलो रेकर्ड भएको अस्पतालको दावी छ । अहिले बच्चा र आमाको अवस्था सामान्य रहेको परिवारले जनाएको छ । सामान्य प्रसुतिसंगै आमा र बच्चाको अवस्था राम्रो भएकाले शनिबारनै डिस्चार्ज गरिएको छ । अस्पतालमा भन्दा घरमै राम्रो स्याहार सुसार गर्न सकिने भएकाले डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । अहिले आमा र बच्चाको अवस्था राम्रो भएको सुत्केरी महिलाका श्रीमानले जानकारी दिए । ‘आमा र नानी दुवै ठिक छन्, सम्बन्धित ठाउँमा जानकारी गराएर घरमै व्यावस्थापन गरेका छौ,’उनले भने,‘अस्पताल प्रति आभारी छौ प्रतिकुल अवस्थामा पनि सेवा पायौँ ।’