जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले सोमबार १५ लाख ९५ हजार रुपैयाँ बराबरको माछा नष्ट गरेको छ । भारतबाट रानी भन्सार हुँदै सुनसरीको इनरुवा ल्याउँदै गर्दा प्रहरीले भान्टाबारी नाकामा नियन्त्रणमा लिएर बरामद क्याटफिस प्रजातिको माछा नष्ट गरेको हो ।
प्रहरीले भारतको पश्चिम बंगालको उत्तर चौबिस परगाना जिल्लाको स्वरुप नगर बस्ने २४ वर्षीय ट्रक चालक मोहम्मद इमानुएल गोल्दार र भारतीय नम्बर प्लेट भएको डब्लु बी २५ जे ६१४१ नम्बरको ट्रक पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।
थापाले भने, ‘साउन २ गते साँझ करिब ६ बजे माछा बोकेको ट्रक र चालक नियन्त्रणमा लिएर क्वारेटाइन जाँचका लागि पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय प्रदेश १ मा जानकारी दिँदा क्याटफिस माछा नेपालमा प्रतिबन्धित भएको प्रतिवेदन दिएपछि सोमबार नष्ट गरिएको हो ।
कोरोना महामारीको जोखिम रहेका बेला अन्तरदेशिय आयात निर्यातमा रोक लगाएको अवस्थामा प्रतिबन्धित माछा नेपाल भित्राएको सूचना पाएको आधारमा ट्रकसहित ५ हजार ८ सय २० किलो माछा बरामद गरेर नस्ट गरेको प्रहरीले जनाएको छ । भारतबाट अवैधरुपमा भित्राइएका ती माछा धरान, विराटनगर, पोखरा र काठमाडौंका उपभोक्ताका लागि ल्याइएको पाइएको छ ।
नेपालमा प्रतिबन्धित क्याटफिस नेपाली उपभोक्तालाई मात्र लक्षित गर्दै भारतका विभिन्न प्रान्तमा उत्पादन गर्ने गरिएको पनि खुलेको छ । भारतमा समेत सन् २०१२ देखि प्रतिबन्धित गरिएको क्याटफिस मानिसका लागि उपभोग्य नरहेको बताइएको छ । माछा विषालु हुने भएपनि नेपालमा माछा व्यापारीहरुले जीवित र स्वस्थ मुङ्ग्री माछा भनेर लाखौंको कारोबार आएका थिए । उक्त माछा ल्याउँदा अन्य माछालाई देखाएर क्यारेन्टाइन जाँच पास गर्ने गरेको समेत खुलेको छ । प्रहरीका अनुसार थप कारबाहीका लागि ट्रकसहित चालक गोल्दारलाई भन्टाबारी नाकास्थित सेतुबन्ध भन्सार कार्यालयमा पठाएको छ ।