भाद्र २७
गुल्मीमा कोरोना नियन्त्रण तथा रोकथामका लागि झण्डै ११ करोड खर्च भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, तम्घास अस्पताल र जिल्ला समन्वय समितिमार्फत १० करोड ८९ लाख ६५ हजार २५२ खर्च भएको हो । कोरोना भाइरस सुरु भएदेखि असार मसान्तसम्म स्थानीय तह तथा कार्यालयहरुबाट उक्त रकम खर्च भएको हो ।
कोरोना रोकथाम नियन्त्रणको लागि १४ वटा वडा रहेको रेसुङ्गा नरपालिकामा गत चैत देखि असार मसान्तसम्म कुल एक करोड २६ लाख छ हजार ६७५ खर्च भएको छ । मुसिकोट नगरपालिकाले गत आर्थिक बर्षको चैतदेखि असार मसान्तसम्ममा कोरोना नियन्त्रणको लागि एक करोड ७० लाख ५६ हजार ४४७ खर्च गरेको छ । रुरुक्षेत्र गाउँपालिकाले कोरोना नियन्त्रणको लागि ६५ लाख ८० हजार ९८४ खर्चिएको छ ।
मदाने गाउँपालिकाले कोभिड १९ नियन्त्रणको लागि एक करोड १० लाख ५० हजार खर्च गरेको छ । मालिका गाउँपालिकामा कुल एक करोड ५० लाख चार हजार ५७ रुपैँया खर्च भएको प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।
चन्द्रकोट गाउँपालिकाले विभिन्न पाचँवटा शिर्षकमा कोरोना नियन्त्रणको लागि कुल ६७ लाख ४२ हजार १३३ खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।गुल्मीदरबार गाउँपालिकाले वेभसाइटमार्फत आफ्नो कोभिड खर्च विवरण खर्च सार्वजनिक गरेको छ । उसले विभिन्न १३ शिर्षकमा कोरोना नियन्त्रणको लागि कुल एक करोड २३ लाख तीन हजार ७७० खर्च गरेको जनाएको छ ।
इस्मा गाउँपालिकामा कोरोना नियन्त्रणको लागि ७१ लाख २९ हजार ०२८ खर्च गरेको छ ।
छत्रकोट गाउँपालिकामा कोरोना नियन्त्रणको लागि एक करोड सात लाख २९ हजार ६९४ खर्च गरिएको छ । सत्यवती ःगाउँपालिकाले कोरोना नियन्त्रणको लागि विभिन्न ६८ शिर्षकमा ७६ लाख ९६ हजार १९१ खर्च विवरण तयार गरेको छ ।
धुर्कोट गाउँपालिकामा कोरोना नियन्त्रणको लागि एक करोड आठ लाख ७२ हजार ६६४ खर्च भएको छ । कालिगण्डकी गाउँपालिकामा कुल ४२ लाख ८९ हजार ४१८ खर्च भएको पल्लीले बताए । कालिगण्डकीले गरेको यो खर्च जिल्लाका सबै स्थानीय तहले गरेको खर्चभन्दा कम हो ।
तम्घास अस्पताल गुल्मीबाट कुल चार लाख ८४ हजार ५६० खर्च भएको छ ।स्वास्थ्य कार्यालयले आफुले गरेको खर्चलाई तीन शिर्षकमा विभाजन गरेको छ । जसअनुसार पिपिई लगायतका स्वास्थ्य सामग्री खरिदको लागि चार लाख ९८ हजार २४३, जोखिम भत्तामा एक लाख ४५ हजार ६३ खर्च भएको छ । स्वाब संकलन तथा परीक्षणको लागि भ्रमण खर्चमा एक लाख ४७ हजार ४१० गरी स्वास्थ्य कार्यालयबाट कुल सात लाख ९० हजार ७१६ खर्च भएको कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट गत आर्थिक बर्षमा एक लाख ३७ हजार खर्च भएको सुचना अधिकारी उद्धव पन्थले बताए । जिल्ला समन्वय समितिबाट चार लाख ९६ हजार २८८ खर्च भएको छ ।