अर्घाखाँची/असोज १३
अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा झण्डै तीन सय घर पहिराको जोखिममा परेका छन ।
वडा नम्वर १२ को कोठिया मैदान र ११ ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेको निर्णय गरेको हो ।दुवै वडामा घर, गोठ भत्किएर अन्नपात, पशु चौपायासहित ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको छैन । क्षतिको विवरण संकलन गर्ने काम अझै नसकिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिनुभयो । उक्त स्थानमा तीन–चार वर्षअघिदेखि जमिन धाँजा परेको थियो । स्थानीयले धाँजा पुर्दै खेती गर्दै आएका थिए ।उक्त स्थानमा जमीन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो । सबै गाउँको जमीन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने जनप्रतिनिधि र सुरक्षा निकायले स्थलगत अध्ययन गरेपछि बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले निष्कर्ष निकालेको छ।