राजधानी सार्ने विवाद गम्भीर बन्दै, प्रदेशसभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजकले राजिनामा दिए
१९ असोज ।
बुटवल ।
प्रदेश राजधानी बुटवलबाट सार्ने विषयले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद उत्पन्न भएको छ ।
बुटवलबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसद भोजप्रसाद श्रेष्ठले प्रदेशसभा संचालन नियमावली संशोधन मस्यौदा समितिको संयोजक पदबाट राजीनामा दिएका छन् ।
संसदीय विधी र पद्धती विपरित जवरजस्ती प्रदेशको राजधानी सार्न खोजिएकोमा असन्तुष्टि जनाउँदै सांसद श्रेष्ठले संयोजक पदबाट राजीनामा दिएका हुन् ।
श्रेष्ठले राजधानी सार्ने सरकारको निर्णय गैरसंसदीय र अलोकतान्त्रिक भएको भन्दै तिब्र असन्तुष्टि जनाउँदै आएका छन् ।
श्रेष्ठकै नेतृत्वमा नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा १४ जना प्रदेशसभा सांसदले नोट अफ डिसेन्ट लेखेका थिए ।
विपक्षी दलहरु एवं पेशागत संगठनहरु राजधानी सार्ने प्रस्तावको विरुद्ध आन्दोलनमा उत्रिरहँदा सत्तारुढ नेकपाका नेता र सांसदहरु अलमलमा परेका थिए । तर, नेकपा रुपन्देही, बुटवल नगर कमिटीले आन्दोलनका लागि बाटो खुलाइसकेको छ ।
मुख्यमन्त्री शंकर पोखरेलको विशेष सक्रियतामा प्रदेश राजधानी सार्ने प्रस्तावमा पार्टीका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पु्ष्पकमल दाहाल प्रचण्डलाई सहमत गराइसकेपछि प्रदेशसभामा अचानक प्रस्ताव ल्याइएको थियो ।
प्रदेशसभामा आजैबाट छलफल सुरु हुन लागेको यो प्रस्ताव स्वयं नेकपाका लागि भने गलपासो बनेको छ । प्रदेशसभामा छलफल हुनुअघि सभाभवन आसपासको सुरक्षा व्यवस्थालाई अत्यन्त कडा बनाइएको छ ।विपक्षी काँग्रेसले हिजो प्रस्तावको विरोधमा रुपन्देही बन्दको आयोजना गरेको थियो भने साँझ काँग्रेस कार्यकर्ताहरुले मुख्यमन्त्री पोखरेलको गाडीमा आक्रमणम समेत गरेका थिए ।