अनिल खत्री
१४ मंसिर, गुल्मी -गुल्मीको इस्मा गाउँपालिकाले सार्बजनिक बिदा दिएको छ ।
शुक्रवार गाउँपालिकाको वडानम्बर–४ को हुल भन्ने स्थानमा भएको जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको शोकमा आज सार्बजनिक बिदा दिएको हो । दुर्घटनामा परेर घाइते २ जनाको स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरु शैक्षिक संस्थाहरुमा बिदा दिन निर्देशन गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रसासकीय अधिकृत नारायण महतद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । कक्षा १२ को परिक्षा भने यथावत रुपमा सञ्चालन गर्न निर्देशन गरेको छ । इस्मा गाउँपालिकाबाट जिल्ला सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ११६६ नम्बरको जीप गाउँपालिकाको वडा नम्बर–४ को हुल भन्ने स्थानमा दुर्घटना हँुदा ६ जनाको मृत्यु् भएको थियो ।
दुर्घटना इस्मा गाउँपालिका–४ हुलका ६५ बर्षीय डम्बर हितान, ३३ बर्षका शिव दर्लामी, ३० बर्षका बसन्त दर्लामी, ३३ बर्षको धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० बर्षका सुन्दरी थापा र गुल्मी अस्पतालमा उपचारको क्रममा १९ बर्षका फर्सुराम थापाको भएको थियो । दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै २८ बर्षको सरस्वति दर्लामी र सहचाक २५ बर्षको कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुसल रहेका थिए । जीपमा चालक सहित ९ जना सवार रहेको थिए । दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।