मंसिर २७ ।
एउटा बोकोको मूल्य कति पर्ला ? अधिकांशले हजारको हाराहारीमा मूल्य सुनाउने गर्छन् । तर यहाँको एक बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा बढी तोकिएको छ । बागलुङ नगरपालिका वडा नम्बर ११ रायडाँडाका चिरन्जिबी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि बोका नबेचेका हुन् । ‘मैले अझै केही समय पाल्ने भनेर ४ लाखमा दिइन’ केसीले भने, ‘अर्को बोका किनेपछि साँढे चारलाख रुपैयाँ पाएमा मात्रै बेच्छु ।’ बोयर जातको यो बोकाको तौल १ सय २० केजीको छ । केसीले अन्य दुइ बोका किन्ने तयारी गरेका छन् । केसी आफै पशु प्राविधिक पनि हुन् । मौरीपालन व्यवसायबाट तीन वर्ष अघि केसीले बाख्रा पालनलाई व्यवसायिक बनाएका थिए । उनको खोरमा अहिले पनि १ सय बाख्रा छन् । स्थानीय खरि जातको बाख्रामा बोयरको क्रस गराएर उनले बाख्रा पालिरहेका हुन् ।
यो बोका ९० प्रतिशत क्रस बोका हो । यस्तो विधिले पाल्दा खरी जातको झै घा“स खाने, चर्न रुचाउने र तौल भने बोयरको जस्तै बढ्ने गरेको उनले अनुभव सुनाए । केन्द्रीय भेडाबाख्रा प्रवद्र्धन कार्यक्रम मार्फत तालिम पाएपछि ३ लाख लगानी गरेर २ वटा बोका किनेर गाउँ भित्राएका केसीले गाउँभरी व्यवसायिक बाख्रा पालनको लहर ल्याउन सफल भएका छन् । रायडाँडामा मात्रै अहिले १७ वटा बाख्रा फार्म संचालनमा छन् । ती मध्ये १० वटा खरी बाख्राका छन् भने ७ वटा बोयरका हुन् । सबै फार्मले क्रमश बोयर पनि सँगै पाल्ने तयारी गर्दैछन् । ‘बोयर जातको बाख्राकालागि हाडनाता लाग्ने गरी बोका लगाउनु हुँदैन, त्यसैले अब नयाँ बोका ल्याउने योजना छ’ उनले भने, ‘चितवन गएर नयाँ बोका ल्याउने तयारी छ, त्यतिबेला यो बोका बेच्नुपर्ला ।’ यहाँका सबै बाख्रा स्थानीय बजारमै खपत भैरहेको उनले बताए ।