पौष १०
जिल्ला प्रहरी कार्यालय कैलालीले चितुवाको छाला र हाडसहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सूचनाका अधारमा प्रदेश प्रहरीको विशेष टोलीले कैलाली गोदावरी–२ अत्तरिया बजारमा रहेको मिड प्वाइन्ट होटलबाट शुक्रबार बिहान चितुवाको हाडसहित ३ जनालाई पक्राउ गरेको हो । विशेष प्रहरीले सूचनाका अधारमा उनीहरुको पिछा गरेर होटलबाट रंगेहात पक्रेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरीले एक थान चितुवाको छाला, हाड दुई थान बरामद गरेको हो । आवश्यक कारबाहीका लागि प्रहरीले शुक्रवारै वन डिभिजन कार्यालय धनगढीको जिम्मा लगाएको छ ।
पक्राउ पर्नेहरुमा डोटी जोरायल गाउँपालिका ४ बस्ने ३१ वर्षीय किरन पुन र डोटी आर्दश गाउँपलिका–५ का ३५ वर्षीय वीरबहादुर धामी र योगेन्द्र धामी रहेका छन् ।
यसैबिच जिल्ला प्रहरी कार्यालय कैलालीले एक जनालाई चरेसको कारोबारमा पक्राउ गरेको छ । बिहीबार राति लागूऔषध चरेसको कारोबार भइरहेको सूचनाका अधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले साढे तीन सय ग्राम चरेस र एक लाख १२ हजार भन्दा बढी रकमसहित तोरणप्रसाद जोशीलाई पक्राउ गरेको हो ।