मिलन विश्वकर्मा
पुस १६,
पाल्पा आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम साधारण सभा बिहिबार तानसेनमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले नगरभित्रको कान्छो सहकारीको रुपमा रहेको आगन सहकारीले छोटो समयमा राम्रो प्रगति गरेको बताउनुभयो । ‘नीति र नियमको पूर्णतः पालना गरेर यो संस्था चलेको छ’ उहाँले भन्नुभयो ‘नियममा बाँधिएर काम गर्दा नै संस्थालाई सफलता मिल्छ।’ पछिल्लो समयमा नगर भत्रका कतिपय सहकारीले गुणात्मक काम नगरेको उहाँले बताउनुभयो । बचत तथा ऋण कारोबार गरेर मात्र सफल नभइने उहाँको भनाइ छ । जनतालाई आर्थिक उपार्जन जोड्ने काम सहकारीको भएको उहाँले बताउनुभयो ।
विशिष्ट अतिथि तानसेन नगरपालिका सहकारी शाखा प्रमुख वरिष्ट कार्यक्रम अधिकृत दुर्गा थापाले संख्यात्मक भन्दापनि गुणात्मक गतिविधि गर्न सुझाव दिनुभयो । केही सहकारी व्यक्तिको झोलामा रहेको उहाँले बताउनुभयो । ‘नगरभित्र ४९ वटा सहकारी छन्’ उहाँले भन्नुभयो ‘केही व्यक्तिको झोलामा सीमित छन्। केही खारेज हुने अवस्थामा छन्।’ सहकारीमा आवद्ध हुने शेयर सदस्यलाई व्यावसायिक बनाउने काम सहकारीको भएको उनले बताए।
जिल्ला सहकारी संघ पाल्पाका सचिव तथा यस सहकारीका सल्लाहकार भूपती पाण्डेयले सहकारी उत्पादनमूखी भन्दा पनि सेवामूखी भएको बताउनुभयो । सहकारीको भीडमा जन्मिएको आगन बहुउद्देश्यीय सहकारीले सदस्यको जीवनमा प्रत्यक्ष फाइदा हुने पृथक खालका कार्यक्रम गर्न उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा वयोवृद्ध टीकाराम बश्याल, संस्थाका कानुनी सल्लाहकार घनश्याम भट्टराई, शेयर सदस्यका तर्फबाट कृष्ण प्रसाद पाण्डे, पवित्रा खनाल लगायतले सहकारी सफलताको शुभकामना दिनुभएको थियो । सहकारीका अध्यक्ष भीमलाल भट्टराइको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष गोपाल प्रसाद बश्यालले स्वागत गर्नभएको थियो । कार्यक्रममा सचिव मिलन विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।
यसैबीच साधारण सभाको बन्द शत्रबाट अध्यक्ष भीमलाल भट्टराई, कोषाध्यक्ष अम्बिका पाण्डे र लेखा सुपरीवेक्षण समितिका संयोजक भविन्द्र गौतमले पेस गरेका प्रतिवेदनहरुमाथि थप छलफल गरी अनुमोदन भएको छ ।