२५ पुस ।
पाल्पामा थप २३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार, शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २३ जना संक्रमितले कोरोना जितेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका भित्रका १३ जनाले कोरोना जितेका छन् ।
यस्तै पछिल्लो तीन दिनमा पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ पुरुष र ५ जना महिलामा संक्रमण देखिएको हो । तानसेन नगरपालिकाका ३ जना, माथागढी, रम्भा र बगनासकालीका एकरएक जना, रामपुरका २ जनामा संक्रमण देखिएको छ ।
योसँगै पाल्पामा एक हजार ८ सय ५२ जना कोरोना संक्रमित पुगेका छन् । पाल्पामा कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ । अहिले जिल्लामा कुल सक्रिय संक्रमितको संख्या ७२ पुगेको छ । जिल्लामा अहिलेसम्म १ हजार ४३ जना समुदायस्तरका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । ति मध्ये महामारीको अग्रभागमा रहेर काम गर्दै आएका ८५ जना स्वास्थ्यकर्मी रहेका छन् ।