माघ २०
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको बताउनुभएको छ ।
नेता भट्टराईले प्रतिनिधि सभा पुनर्स्थापना नभए देश गृहयुद्धमा जाने बताउँदै प्राप्त उपलब्धिको रक्षाका लागि देशमा संयुक्त आन्दोलन आवश्यक रहेको बताउनुभयो । अर्घाखाँचीको सन्धिखर्कमा प्रेस नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गणतन्त्रको रक्षाका लागि दलहरू एक भएर आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो ।
संविधानका चार खुट्टा गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समावेशिता रहेको बताउँदै यी चार खुट्टाबाट नेपालको संविधानरूपी खाट तयार भएको बताउनुभयो । यीमध्ये जुनसुकै खुट्टा भाँचिदिए पनि खाट सुत्न योग्य नहुने भए जस्तै संविधान पनि तयस्तै हुने नेता भट्टराईको भनाइ छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपाको दाहाल–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पार्टी तयार रहेको र संयुक्त आन्दोलनका लागि कुराकानी भइरहेको उहाँको भनाइ छ ।
वैशाखमा चुनाव हुने कुनै सम्भावना नरहेको बताउँदै नेता भट्टराईले देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान केपी ओलीको समूह लागेको बताउनुभयो ।