माघ ६
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क वृद्धिसम्बन्धमा आफ्नो सहमति नरहेको प्रस्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघद्वारा मन्त्रालयमा प्रेषित परामर्श शुल्कसम्बन्धी पत्रबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रवक्ता गौतमका अनुसार यही माघ ४ गते मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको कमिटीसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने तथ्यलाई नबुझी एकलौटी रुपमा नेपाल चिकित्सक संघ र एफिनद्वारा वृद्धि गरिएको परामर्श शुल्कप्रति मन्त्रालयको असहमति छ ।
मन्त्रालयले चिकित्सकहरुको परामर्श शुल्क २०७१ भदौ ११ गते मन्त्रालयबाट जारी गरिएको पत्रानुसार नै कायम रहेको पनि प्रस्ट पारेको छ ।
निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको हकमा भने न्यूनतम पारिश्रमिक, अस्पतालहरुको सेवा शुल्क र परामर्श शुल्कसमेतको समय सापेक्षित परिमार्जन गर्न सम्बन्धित सरोकारवालासँग छलफलका लागि मन्त्रालय तयार रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।